च्छो रोल्पा जोखिम न्यूनीकरण गर्न तामाकोशी र सुनकोशी किनारमा पूर्वसूचना प्रणाली जडानको तयारी
२७ कार्तिक २०८३, शुक्रवार
रामेछाप– दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित च्छो रोल्पा हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित बाढीको जोखिम न्यूनीकरण गर्न रामेछापमा विपद् पूर्वतयारीका कामलाई तीव्रता दिइएको छ । हिमताल विस्फोट भएमा तामाकोशी र सुनकोशी नदीमा आउन सक्ने आकस्मिक बाढीबाट तटीय क्षेत्रका बासिन्दालाई जोगाउन स्वचालित पूर्वसूचना तथा साइरन प्रणाली जडान गर्ने पहल अघि बढाइएको हो ।
सम्भावित विपद्को जोखिममा रहेका बस्तीका नागरिकलाई समयमै सचेत गराई सुरक्षित स्थानमा पुग्ने अवसर प्रदान गर्ने उद्देश्यले नदी किनारका उपयुक्त स्थानमा साइरन प्रणाली स्थापना गर्न लागिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले गरेको निर्णयबमोजिम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित सम्बन्धित निकायलाई आवश्यक प्रणाली जडानका लागि अनुरोध गरिएको छ । केसीले सम्भावित हिमताल विस्फोटबाट उत्पन्न बाढीले जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो क्षति पु¥याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी, सूचना प्रवाह र सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
यसैबीच, सम्भावित बाढीको प्रभाव र जोखिमको अवस्था पहिचान गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गठित उपसमितिले स्थलगत अध्ययन तथा विवरण सङ्कलन गरिरहेको छ । उपसमितिले बाढीबाट प्रभावित हुन सक्ने क्षेत्र, बस्ती, जनसङ्ख्या तथा भौतिक संरचनाको पहिचान गरी जोखिमसम्बन्धी प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ ।
जोखिमको यथार्थ अवस्था आकलन गर्न जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले मन्थली र रामेछाप नगरपालिका तथा खाँडादेवी र लिखु तामाकोशी गाउँपालिकासँग आवश्यक विवरण माग गरेको छ । मिल्ती खोलादेखि कोलन्जोर घाट तथा लिखु नदी आसपासका नदी तटीय क्षेत्रमा रहेका जोखिमयुक्त घरधुरी र जनसङ्ख्याको तथ्याङ्क सङ्कलन गर्न स्थानीय तहलाई आग्रह गरिएको छ ।
त्यसैगरी, सम्भावित बाढीको चपेटामा पर्न सक्ने विद्यालय, स्वास्थ्य संस्था, बजार क्षेत्र, धार्मिक स्थल तथा अन्य सार्वजनिक संरचनाको विवरणसमेत अद्यावधिक गर्न भनिएको छ । विपद्को अवस्था सिर्जना भएमा प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न सकियोस् भन्ने उद्देश्यले उच्च भूभाग, खुला क्षेत्र, सामुदायिक भवन र सम्भावित आश्रयस्थलको पहिचान गरी तिनको क्षमता विवरणसमेत सङ्कलन गर्न थालिएको छ । प्रशासनले जोखिमयुक्त बस्तीको पहिचान, पूर्वसूचना प्रणालीको विकास, आवश्यक आश्रयस्थलको व्यवस्थापन र निकायबीच समन्वयलाई प्रभावकारी बनाउँदै सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने लक्ष्य राखेको जनाएको छ ।
हिमताल विस्फोटजस्तो आकस्मिक विपद्को अवस्थामा पूर्वसूचना र समयमै सुरक्षित स्थानान्तरणले जनधनको क्षति कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले रामेछापमा जोखिम आकलन र पूर्वतयारीका कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्रशासनको भनाइ छ ।
वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल
रामेछाप- २७९ पौष २०८०, शुक्रबार “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ
अन्लाईन पत्रकारिता तालिम आज तेस्रो दिन (फोटो फिचर)
१७ वैशाख २०८०, आइतबार रामेछाप– बुधवार देखी मन्थलीमा सुरु भएको अन्लाईन पत्रकारिता तालिम आज तेस्रो दिन पनि जारी रहेको छ । नेपाल पत्रकार महासङ्घ


प्रतिकृया दिनुहोस