रामेछापमा संविधान दिवसः प्रभातफेरीदेखि अस्पतालका बिरामीलाई फलफूल वितरणसम्म
३ असोज २०८३, शनिवार
रामेछाप– संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा रामेछापमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा जिल्ला मूल समारोह समिति, रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा प्रभातफेरीसहितको कार्यक्रम सम्पन्न भएको छ ।
मन्थलीस्थित मदन–आश्रित चोकबाट बिहान ७ बजे सुरु भएको प्रभातफेरी कटहर बोट हुँदै जिल्ला समन्वय समितिको कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला मूल समारोह समिति रामेछापकी संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीले नेपालको संविधान निर्माणसम्म आइपुग्दा भएका विभिन्न राजनीतिक, सामाजिक तथा नागरिक आन्दोलनको योगदानको स्मरण गर्नुभयो । उहाँले २०६२÷६३ को जनआन्दोलनलगायत उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग तथा समुदायका अधिकारका लागि भएका विभिन्न आन्दोलन र संघर्षको परिणामस्वरूप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्नुभयो ।
संविधान र त्यसबाट प्राप्त अधिकारलाई वर्तमान पुस्ताले सहज उपलब्धिका रूपमा मात्र नहेरी यसको ऐतिहासिक पृष्ठभूमि बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने कतिपय व्यक्ति अझै जीवित रहेको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई संविधान निर्माणको इतिहास र त्यसका लागि भएका संघर्षबारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।
दिवसकै अवसरमा रामेछापका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई फलफूलसमेत वितरण गरिएको छ । मन्थली नगरपालिका र रामेछाप उद्योग वाणिज्य सङ्घको सहकार्य तथा समन्वयमा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो । त्यसैगरी संविधान दिवसको अवसरमा शनिबार साँझ मन्थलीस्थित देवकोटा चोकमा विभिन्न सङ्घसंस्थाको समन्वयमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने जिल्ला मूल समारोह समितिले जनाएको छ । नेपालको संविधान संविधानसभाबाट जारी भएको दिनको स्मरणमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।
इजरायल पठाइदिने भन्दै साढे दुई करोड ठग्ने काँग्रेस रामेछापको नेता चौलागाई पक्राउ
३ असोज २०८३, शनिवार रामेछाप— प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पदको दुरुपयोग गरी इजरायल पठाइदिने प्रलोभनमा करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा
लिखु तामाकोशीमा ४ विद्यालयका ५२५ विद्यार्थीको आँखा परीक्षण
३ असोज २०८३, शनिवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकामा विद्यालयस्तरीय आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत ४ विद्यालयका ५२५ विद्यार्थीको आँखा
चोरीको गहना खरिद गरेको आरोपमा उद्योग वाणिज्य संघ रामेछापका सचिव लोहार पक्राउ
२९ भदौ २०८३, आइतबार रामेछाप- महिलालाई नसालु पदार्थ सेवन गराई वेहोस बनाएर सुनको गहना चोरी गर्ने र उक्त गहना खरिद गर्ने कार्यमा संलग्न दुई जनालाई

प्रतिकृया दिनुहोस