रामेछापमा मानसिक स्वास्थ्य सचेतनाका लागि पत्रकार र शिक्षकलाई अभिमुखीकरण
०९ भाद्र २०८३, मंगलवार
रामेछाप- मानसिक स्वास्थ्यसम्बन्धी समस्या, त्यसको समयमै पहिचान तथा रोकथामका उपायबारे समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले रामेछापको मन्थलीमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठीको आयोजनामा मङ्गलबार सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकार तथा विभिन्न विद्यालयका शिक्षक गरी २० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा गुठीकी सचिव एवं साइको–सोसल काउन्सिलर सुनिता ढुङ्गाना र कृपा गुरुङले नेपालमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था, किशोर–किशोरीमा देखिने मानसिक स्वास्थ्यसम्बन्धी समस्या, त्यसका कारण, जोखिम तथा समाधानका उपायबारे सहजीकरण गर्नुभएको थियो ।
सहजीकरणका क्रममा मानसिक स्वास्थ्यमा देखिने समस्या व्यक्तिको दैनिक जीवन, पारिवारिक सम्बन्ध तथा सामाजिक व्यवहारमा पार्न सक्ने प्रभावका साथै समस्या पहिचान भएपछि समयमै परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो । विशेषगरी किशोर–किशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै जानुका कारण, जोखिम पहिचान र आत्महत्या रोकथामका उपायबारे सहभागीलाई जानकारी गराइएको थियो ।
मानसिक रूपमा असहज अवस्थामा रहेका व्यक्तिलाई उपेक्षा, आरोप वा नकारात्मक व्यवहारभन्दा सहयोग, सहानुभूति र आवश्यक परामर्शको वातावरण दिनुपर्नेमा कार्यक्रमका वक्ताले जोड दिएका थिए । परिवार, विद्यालय, सञ्चारमाध्यम र समुदायले मानसिक स्वास्थ्यलाई खुला रूपमा छलफल गर्ने विषयका रूपमा स्वीकार गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी गलत धारणा र भ्रम हटाउन सही तथा तथ्यमा आधारित सूचना प्रवाहको आवश्यकता औँल्याइएको थियो । पत्रकार र शिक्षकमार्फत मानसिक स्वास्थ्यसम्बन्धी जानकारी समुदाय तथा विद्यार्थी तहसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गुठीकी सचिव एवं साइको–सोसल काउन्सिलर ढुङ्गानाले बताउनुभयो ।
सहभागीहरूले मानसिक स्वास्थ्यका विषयमा समाजमा अझै पर्याप्त छलफल र सचेतना आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमलाई विद्यालय तथा समुदायको तल्लो तहसम्म विस्तार गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाउने वा कलङ्कका रूपमा हेर्ने प्रवृत्तिको अन्त्य गर्दै समयमै पहिचान, परामर्श र सहयोगको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमले मानसिक स्वास्थ्यका विषयमा पत्रकार तथा शिक्षकको ज्ञान र भूमिकालाई थप स्पष्ट पार्दै समुदायमा सही सूचना र सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बालमैत्री स्थानीय शासनयुक्त मन्थलीको पहिलो वार्षिकोत्सव
११ भदौ २०८३, विहिवार रामेछाप– बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा मन्थली नगरपालिकाले बालबालिकाको सहभागिता, अधिकार
मन्थली–२ कठजोर खोलामा भीषण आगलागी, घर पूर्ण रूपमा नष्ट
११ भदौ २०८३, बिहीबार रामेछाप । मन्थली नगरपालिका–२ कठजोर खोलास्थित एक घरमा विद्युत् लाइन सर्ट भएर भीषण आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ
बाढीपीडितका लागि सुनापति गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने
११ भदौ २०८३, बिहिवार रामेछाप– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका पीडितको उद्धार तथा राहतका लागि रामेछापको सुनापति

प्रतिकृया दिनुहोस