• ON AIR
  • स्टेशन सुभारम्भ

एनसीसी तालिममा रामेछापका विद्यालयको उत्कृष्ट नतिजा, पटनादेवी बन्यो प्रथम

२८ असोज २०८३, बुधबार
रामेछाप- नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) को सि.सं. ५२ जुनियर डिभिजन क्याडेट तालिमअन्तर्गत आयोजित वार्षिक सामूहिक क्याम्पमा रामेछापको पटनादेवी माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । तालिम तथा क्याम्पमा सहभागी विद्यार्थीले अनुशासन, नेतृत्व क्षमता, शारीरिक तन्दुरुस्ती र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
नेपाली सेनाको रामेछापस्थित खड्गदल गणको समन्वय तथा व्यवस्थापनमा सञ्चालित उक्त तालिम २०८३ साल असार १ गतेदेखि असोज १ गतेसम्म सञ्चालन भएको थियो । तालिममा मन्थली नगरपालिका–१, तीनलाल पार्कस्थित नागकन्या माध्यमिक विद्यालय र रामेछाप नगरपालिका–७, भालुखोपस्थित पटनादेवी माध्यमिक विद्यालयका ३०–३० जना विद्यार्थी सहभागी भएका थिए । दुवै विद्यालयबाट १५ छात्र र १५ छात्रासहित कुल ६० जना क्याडेटले तालिम लिएका थिए । दुवै विद्यालयमा खड्गदल गणका प्रशिक्षक खटिएका थिए ।
क्याडेटलाई थप व्यावहारिक तथा व्यावसायिक अभ्यास गराउने उद्देश्यले असोज ८ गतेदेखि २८ गतेसम्म बर्दिबासस्थित राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालयमा वार्षिक सामूहिक क्याम्पको पहिलो चरण सञ्चालन गरिएको थियो । असोज २८ गते आयोजित क्याम्प समापन तथा दीक्षान्त समारोह श्री मध्यपूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी भुवन खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा विभिन्न विद्यालयका क्याडेटले तालिमका क्रममा सिकेका सीप, अनुशासन र नेतृत्व क्षमताको प्रदर्शन गरेका थिए ।
प्रतिस्पर्धात्मक गतिविधिमा उत्कृष्ट प्रदर्शन गरेको पटनादेवी माध्यमिक विद्यालयले समग्रमा प्रथम स्थान हासिल गरेको हो । उक्त विद्यालयका छात्र सन्दीप तामाङ र छात्रा परिना तामाङ कम्पनी जुनियर अन्डर अफिसरका रूपमा छनोट भएका थिए । उनीहरूले कवाज प्रदर्शनका क्रममा गुल्मको नेतृत्वसमेत गरेका थिए । सन्दीप तामाङले सहभागी विद्यालयका छात्रमध्ये प्रथम स्थान हासिल गर्दै उत्कृष्ट छात्रको उपाधि प्राप्त गरेका छन् ।
त्यसैगरी, क्याम्पअन्तर्गत आयोजित १ हजार ५०० मिटर दौड प्रतियोगितामा पटनादेवी माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ । खेलकुदतर्फ नागकन्या माध्यमिक विद्यालयले भलिबलमा प्रथम र फुटबलमा तृतीय स्थान प्राप्त गरेको छ ।
समापन तथा दीक्षान्त समारोहमा खड्गदल गण रामेछापका गणपति प्रमुख सेनानी दीपेन्द्र आङ्देम्बे पनि उपस्थित थिए । राष्ट्रिय सेवा दलको तालिमले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, सामूहिक भावना तथा राष्ट्रसेवाप्रतिको जिम्मेवारी विकास गर्ने उद्देश्य राखेको छ । तालिममा रामेछापका दुवै विद्यालयका क्याडेटले हासिल गरेको उपलब्धिले विद्यार्थीको क्षमता अभिवृद्धिसँगै जिल्लाको शैक्षिक तथा खेलकुद क्षेत्रको पहिचानसमेत उजागर गरेको छ ।

प्रतिकृया दिनुहोस

खिम्ती ग्रामीण विद्युत सहकारीद्वारा ई–सेवा मार्फत महसुल भुक्तानी सुरु

२८ असोज २०८२, बुधबार रामेछाप-  खिम्ती ग्रामीण विद्युत तथा सहकारी संस्थाले विद्युत महसुल भुक्तानी प्रक्रियालाई सहज, सरल र प्रविधिमैत्री बनाउने

सुनापतिमा पर्यटन प्रवद्र्धनको तयारी तीव्र, मंसिर २५ देखि तीनदिने महोत्सव

२८ असोज २०८३, वुधवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन, कृषि उत्पादनको बजारीकरण, शिक्षा र

प्रेस चौतारी रामेछापको शुभकामना आदानप्रदान : एकता, सद्भाव र प्रेस स्वतन्त्रतामा जोड

२७ असोज २०८३, मंगलवार रामेछाप- प्रेस चौतारी नेपाल रामेछापले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा शुभकामना आदानप्रदान

↑