नयाँ आशा र उमङ्गका साथ २०८३ सालको स्वागत
१ वैशाख २०८३, मंगलवार
रामेछाप– नववर्षको आगमनसँगै आजदेखि विक्रम संवत् २०८३ औपचारिक रूपमा सुरु भएको छ। वर्षको पहिलो दिन वैशाख १ लाई नेपाली समाजले नयाँ आशा, उत्साह र ऊर्जा लिएर विशेष रूपमा मनाउने परम्परा छ। देशभरका नागरिकहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै उल्लासपूर्ण वातावरणमा यो दिनलाई स्वागत गरेका छन् ।
नेपालमा प्राचीन कालदेखि नै विक्रम संवत् प्रचलनमा रहँदै आएको छ, जसलाई विश्वकै सबैभन्दा पुराना संवतहरूमध्ये एक मानिन्छ। सूर्यको गतिमा आधारित यस संवत् वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। आजकै दिन सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले यसलाई मेष सङ्क्रान्ति वा वैशाख सङ्क्रान्तिका रूपमा पनि चिनिन्छ। यही खगोलीय परिवर्तनसँगै पुरानो वर्ष समाप्त भई नयाँ वर्षको सुरुवात हुने विश्वास गरिन्छ ।
नयाँ वर्षको पहिलो दिनलाई आत्ममूल्याङ्कनको अवसरका रूपमा पनि लिने गरिन्छ। धेरैले विगत वर्षका सफलताबाट प्रेरणा लिँदै र असफलताबाट पाठ सिक्दै आगामी दिनका लागि नयाँ योजना र सङ्कल्प तय गर्ने गर्दछन्। यसले व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिन्छ । परम्पराअनुसार आज बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, मठमन्दिरमा गई पूजा–आराधना गर्ने तथा मीठा परिकार सेवन गर्ने चलन छ ।
साथै, परिवारजन, साथीसङ्गी र आफन्तजनसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने प्रचलनले यस दिनलाई अझ विशेष बनाएको छ । नेपालका विभिन्न स्थानमा नयाँ वर्षसँग सम्बन्धित सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छन्। भक्तपुरमा विशेष रूपमा बिस्का जात्रा मनाइन्छ, जसले यस क्षेत्रको सांस्कृतिक पहिचान झल्काउँछ। त्यस्तै, तराई क्षेत्रमा सहलेश फूल फुल्ने विश्वासका कारण पनि यस दिनको छुट्टै महत्व रहेको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रका उच्च पदस्थ व्यक्तित्वहरूले पनि शुभकामना व्यक्त गरेका छन् । उनीहरूले देश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि कामना गरेका छन् । समग्रमा, नयाँ वर्ष २०८३ को आगमनले सबैमा नयाँ ऊर्जा, सकारात्मक सोच र समृद्धिको आकांक्षा जगाउने विश्वास गरिएको छ ।
सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा
५ वैशाख २०८३, शनिवार रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ अध्याय सुरु
२ वैशाख २०८३, बुधवार रामेछाप– बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित मुद्रा सङ्ग्रहालय दोलखाको भीमेश्वर नगरपालिका–२ मा
आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै
२ वैशाख २०८३, बुधवार रामेछाप– आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा

प्रतिकृया दिनुहोस