• ON AIR
  • स्टेशन सुभारम्भ

थोरै बोल्छु, धेरै काम गर्छुः लोक तथा दोहोरीगीत प्रतिष्ठान रामेछापकी अध्यक्ष सुनुवार

२८ असार २०८३, आइतवार
रामेछाप— राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा कल्पना सुनुवार पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सुनुवारले पद र सम्मानभन्दा जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले धेरै भाषणभन्दा कामलाई महत्व दिने आफ्नो कार्यशैली रहने बताउनुभयो ।
“धेरै बोल्ने र धेरै भाषण गर्ने मान्छेले केही पनि गर्दैन । थोरै बोल्ने, धेरै काम गर्ने मेरो प्रतिबद्धता यही हो,“ अध्यक्ष सुनुवारले भन्नुभयो । उहाँले नवगठित कार्यसमितिलाई केवल औपचारिकता र सम्मान ग्रहणमा सीमित नरही जिल्लामा लोकसंस्कृति संरक्षण र प्रवद्र्धनका लागि सक्रिय भएर काम गर्न आग्रह गर्नुभयो । “आज खादा, माला र अबिर लगाएर फोटो खिच्नका लागि मात्रै होइन, भोलि रामेछापमा केही गरेर देखाउनुपर्छ । हामी सबै मिलेर रामेछापलाई संगीतमय बनाउनुपर्छ,“ उहाँले भन्नुभयो ।
सुनुवारले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको जिल्ला समिति गठन हुनु केन्द्रीय समितिको पनि लामो समयदेखिको सपना रहेको उल्लेख गर्दै रामेछापमा सफलतापूर्वक अधिवेशन सम्पन्न हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिनुभयो । तदर्थ समितिबाट सुरु भएको यात्रा आज निर्वाचित कार्यसमितिसम्म आइपुगेको भन्दै उहाँले यसमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका सहयोगी, शुभेच्छुक र कलाकारप्रति धन्यवाद व्यक्त गर्दै उहाँले संस्थाको विकास सामूहिक प्रयासबाट मात्रै सम्भव हुने बताउनुभयो  । संस्थाको वर्तमान अवस्थालाई बिरुवा रोप्ने प्रक्रियासँग तुलना गर्दै अध्यक्ष सुनुवारले अहिले जग बसाल्ने चरणमा रहेको उल्लेख गर्नुभयो । “हामीले बीउ रोपेका छौँ । अब त्यसलाई हुर्काएर बिरुवा, बोट र अन्ततः फल लाग्ने अवस्थासम्म पु¥याउनु छ,“ उहाँले भन्नुभयो ।
रामेछापमा प्रतिष्ठान गठन हुन नसकेको अवस्थाले आफूलाई लामो समयसम्म चिन्तित बनाएको स्मरण गर्दै उहाँले अहिले त्यो सपना पूरा भएको बताउनुभयो । आगामी दिनमा कलाकार, शुभेच्छुक तथा जिल्लावासीको साथ र सहयोग पाए लोकसंस्कृति संरक्षण, कलाकारको हित र संस्थागत सुदृढीकरणका क्षेत्रमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष सुनुवारले आफूलाई जन्मदिने अभिभावक तथा संस्थाका अग्रजप्रति सम्मान प्रकट गर्दै अधिवेशन सञ्चालनका क्रममा कुनै कमी–कमजोरी भएको भए सम्पूर्ण कार्यसमितिको तर्फबाट क्षमायाचना समेत गर्नुभयो ।
यस्तै, प्रथम उपाध्यक्ष अर्जुन पूर्वेली, द्वितिय उपाध्यक्ष पम्फा मगर, महिला उपाध्यक्ष सम्झना गौतम, सचिव अनिता कुमारी थापा मगर, सह–सचिव प्रतिभा बोहोरा, कोषाध्यक्ष विशाल के.सी र सह–कोषाध्यक्षमा हिरा माया बि.क निर्वाचित हुनुभएको छ । 
यस्तै, सदस्यहरुमा गिता कार्की, सुसिला बुढाथोकी, सुबास काकी, विक्रम कुमार श्रेष्ठ, मनिष राउत, धर्मेन्द्र सेन्चुरी, मिरा सेन्चुरी, नवराज खड्का, छत्र बहादुर नेपाली, दिपक लाखे, राज कुमार श्रेष्ठ, किशोर सेन्चुरी, भानुभक्त सेन्चुरी र रिर्चा अधिकारी निर्वाचित हुनुभएको छ । 

 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिकाले हासिल गर्‍यो ८८ दशमलव ०३ प्रतिशत भौतिक प्रगति

३२ असार २०८३, बिहिवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै

रामेछाप नगरपालिकाको बजेट खर्च ६८.७ प्रतिशत, राजस्व असुली ९१.७९ प्रतिशत

२८ असार २०८३, आइतबार रामेछाप- रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिमा सम्पन्न आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ

गोकुलगंगाले ७९.५६ प्रतिशत बजेट खर्च, असार २५ देखि भुक्तानी निकासा बन्द

२७ असार २०८३, शनिवार रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा स्वीकृत संशोधित बजेटको ७९.५६ प्रतिशत रकम खर्च भएको जनाएको