बेरुजु शून्यदेखि पर्यटन प्रवद्र्धनसम्मः सुनापतीमा प्रशासनिक सुधार र विकासको नयाँ अभ्यास
२१ असोज २०८३, बुधवार
रामेछाप– सुनापती गाउँपालिकाले आर्थिक सुशासन, प्रशासनिक सुधार, विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै पछिल्लो समय विभिन्न क्षेत्रमा सुधारका प्रयास अघि बढाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठका अनुसार पछिल्लो दुई वर्षको अवधिमा विकास खर्च बढाउनेदेखि रिक्त कर्मचारी पदपूर्ति, बेरुजु फछ्र्यौट र असल अभ्यासको कार्यान्वयनसम्मका क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । श्रेष्ठले विसं २०८१ असोज २६ गते सुनापती गाउँपालिकामा नियुक्ति लिएर आएपछि प्रशासनिक जिम्मेवारी सम्हाल्दै सेवा प्रवाह र विकास गतिविधिलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँका अनुसार उक्त अवधिमा गाउँपालिकाले विकासतर्फ विनियोजित बजेटको करिब ८० प्रतिशत खर्च गर्न सफल भएको छ ।
“हामीले विकास गतिविधिलाई प्राथमिकता दिएर काम अघि बढायौँ। विकास खर्च पनि अपेक्षाकृत राम्रो भएको छ । प्रशासनिक क्षेत्रमा रिक्त रहेका पदहरु पूर्ति गरेर सेवा प्रवाहलाई चुस्त बनाउने प्रयास गरेका छौँ,” प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो । गाउँपालिकामा प्राविधिक कर्मचारीदेखि आर्थिक प्रशासनतर्फको प्रमुख लेखा अधिकृत सातौँ तहको पदसमेत पूर्ति भएको उहाँले जानकारी दिनुभयो । कर्मचारी अभावका कारण प्रभावित हुने प्रशासनिक तथा प्राविधिक कामलाई जनशक्ति व्यवस्थापनमार्फत व्यवस्थित बनाउने प्रयास गरिएको उहाँको भनाइ छ ।
सुनापती गाउँपालिका रामेछापका ६ गाउँपालिका मध्ये असल अभ्यास कार्यान्वयनमा प्रथम हुन सफल भएको छ । श्रेष्ठका अनुसार सङ्घीय सरकारको मापदण्डअनुसार स्थानीय तहबाट कार्यान्वयन गरिएका असल अभ्यासको विवरण सङ्कलन गर्ने क्रममा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय पूर्वाधार विकाससँग सम्बन्धित योजना प्रस्तुत गरेको थियो । रोजगारी सिर्जना, आन्तरिक आय वृद्धि, गरिबी न्यूनीकरण तथा दिगो विकासमा योगदान पु¥याउन सक्ने योजनाका रुपमा गाउँपालिकाको १०८ लहारे माने तथा शिवमूर्ति निर्माण सम्बन्धी योजनालाई छनोट गरिएको उहाँले बताउनुभयो । उक्त असल अभ्यासको प्रदेशस्तरमा समेत प्रस्तुति दिइएको र जिल्ला समन्वय समितिको वार्षिक जिल्ला सभामा गाउँपालिकालाई सम्मान गरिएको श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले १०८ लहारे माने क्षेत्रलाई थप व्यवस्थित गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश तथा सङ्घीय सरकारसँग समेत बजेट माग गर्दै आएको छ। प्रदेश र सङ्घबाट बजेट विनियोजन नभए पनि सङ्घीय समानीकरण अनुदानबाट प्राप्त बजेटमार्फत योजनालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार १०८ लहारे माने विश्वमा चीनको तिब्बत र भुटानपछि नेपालमा सुनापतीमा रहेको दाबीसम्बन्धी सूची गाउँपालिकाले प्राप्त गरेको छ । उहाँले यसलाई राष्ट्रियस्तरकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश र सङ्घीय सरकारको समेत अपनत्व आवश्यक रहेको बताउनुभयो ।
यस्तै, सुनापती गाउँपालिका आर्थिक सुशासनतर्फ पनि महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको श्रेष्ठको भनाइ छ । वि.सं २०८१÷८२ को बेरुजुको अन्तिम प्रतिवेदनमा बेरुजु देखिए पनि गाउँसभाबाट लेखा समितिको प्रतिवेदन अनुमोदन गराई आवश्यक प्रक्रिया पूरा गरेर महालेखा परीक्षकको कार्यालयबाट बेरुजु फछ्र्यौट गरी शून्यमा ल्याइएको उहाँले जानकारी दिनुभयो । “बेरुजु शून्य बनाउने काममा सुरुबाटै योजना बनाउनुपर्छ । बजेट तथा कार्यक्रम निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता र लेखापरीक्षणका लागि आवश्यक प्रमाण सुरक्षित राख्नुपर्छ,” श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार योजना कार्यान्वयनका क्रममा निर्णय, कागजात र प्रक्रियालाई चरणबद्ध रुपमा व्यवस्थित गरिएको थियो। नियमित गर्नुपर्ने, असुल उपर गर्नुपर्ने तथा प्रमाण कागजात नपुगेका बेरुजुलाई प्रकृतिअनुसार सम्बोधन गरिएको उहाँले बताउनुभयो । गाउँसभाबाट अनुमोदित निर्णय तथा लेखा समितिको प्रतिवेदनलाई नेपाल अडिट म्यानेजमेन्ट सिस्टम (न्याम्स) मा प्रविष्ट गरेपछि महालेखा परीक्षकको कार्यालयबाट रुजु हुने प्रक्रियाअनुसार बेरुजु फछ्र्यौट गरिएको उहाँको भनाइ छ । अब विसं २०८२÷८३ को बेरुजु पनि अन्तिम लेखापरीक्षण प्रतिवेदन आउनुअघि नै फछ्र्यौट गर्ने नीति गाउँपालिकाले लिएको छ । त्यसका लागि प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन प्राप्त भइसकेको र सम्बन्धित शाखा तथा कर्मचारीलाई आवश्यक निर्देशन दिइसकिएको श्रेष्ठले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफ्नो कार्यकालको सबैभन्दा सकारात्मक पक्षका रुपमा जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय तथा सहकार्यलाई लिनुभएको छ । उहाँका अनुसार सामान्य मतभेद देखिए पनि छलफल र संवादमार्फत समाधान गर्ने अभ्यास भएकाले काममा ठूलो अवरोध सिर्जना भएन । पद र जिम्मेवारी फरक भए पनि गाउँपालिकालाई राम्रो सेवा दिने साझा उद्देश्यका साथ जनप्रतिनिधि र कर्मचारीले काम गरेको उहाँको भनाइ छ । “हामीले को प्रमुख प्रशासकीय अधिकृत, को लेखा शाखाको कर्मचारी र को जनप्रतिनिधि भनेर फरक दृष्टिले हेरेनौँ । जिम्मेवारी फरक भए पनि लक्ष्य एउटै भएकाले सबै मिलेर काम ग¥यौँ,” उहाँले भन्नुभयो । तर प्रशासनिक कामकारबाहीमा हुने अनावश्यक राजनीतिक हस्तक्षेपलाई भने सुधार गर्नुपर्ने आवश्यकता रहेको श्रेष्ठको धारणा छ । उहाँले कर्मचारीले राजनीतिक जनप्रतिनिधिसँग समन्वय गर्न हिच्किचाउन नहुने र जनप्रतिनिधिले पनि प्रशासनिक प्रक्रियाको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार राजनीतिक र प्रशासनिक पक्षबीच उचित समन्वय हुन सके मात्र स्थानीय तहबाट अपेक्षित परिणाम हासिल गर्न सकिन्छ ।
सुनापती गाउँपालिकाले चालु आर्थिक वर्षको मङ्सिर मसान्तभित्र बालमैत्री शासन घोषणा गर्ने तयारी गरिरहेको छ । हाल वडा नं ४ लाई बालमैत्री वडा घोषणा गर्ने प्रक्रिया अघि बढिरहेको र वाकि ४ वडा सहित गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी सुनापती डाँडामा रहेको महादेव मन्दिर तथा १०८ लहारे माने क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना गाउँपालिकाले अघि बढाएको छ । मङ्सिर महिनामै पर्यटन महोत्सव आयोजना गरी सुनापती भ्रमण वर्ष घोषणा गर्ने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाले सुनापतीलाई जिल्लामा मात्र नभई देशमै चिनिने पर्यटकीय गन्तव्य बनाउने, रोजगारी र स्थानीय आयआर्जन बढाउने तथा प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी स्रोत सुनिश्चित गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।
उहाँले फरक प्रसंगमा बोल्दै सुनापतीको केउरेनी पहिरो प्रभावित बस्ती स्थानान्तरणका विषयमा स्थानीय तह र जिल्ला तहबाट गर्नुपर्ने प्रक्रिया पूरा गरी सङ्घीय सरकार तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा विवरण पठाइसकिएको श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले सम्भावित सुरक्षित स्थानसमेत पहिचान गरी विपद् व्यवस्थापन समितिको निर्णयसहित पठाएको उहाँले बताउनुभयो । अब प्राधिकरणले प्रस्तावित स्थानको भौगोलिक अध्ययन गरी सुरक्षित रहेको प्रतिवेदन दिएपछि मात्र बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ । “हाम्रोतर्फबाट गर्नुपर्ने प्रक्रिया पूरा भइसकेको छ । अब सम्बन्धित निकायबाट स्थलगत अध्ययन र आवश्यक निर्णय हुनुपर्छ । केउरेनीको अवस्था संवेदनशील भएकाले छिटो प्रक्रिया अघि बढाउन हामीले निरन्तर समन्वय र फलोअप गरिरहेका छौँ,” श्रेष्ठले भन्नुभयो । आफ्नो कार्यकालमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी तथा सुनापतीका नागरिकप्रति आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि पारदर्शिता, सुशासन, समन्वय र प्रभावकारी सेवा प्रवाहलाई निरन्तरता दिन सके सुनापती गाउँपालिकाले अझै उल्लेख्य प्रगति गर्न सक्ने बताउनुभयो ।
बडा दशैं अवसरमा धोबीमा विविध प्रतियोगिता आयोजना हुने
२१ असोज २०८३, बुधवार रामेछाप– बडा दशैं २०८३ को अवसरमा रामेछापको धोबीमा विभिन्न मनोरञ्जनात्मक तथा सिर्जनात्मक प्रतियोगिता आयोजना हुने भएको छ ।
रामेछाप नगरपालिका-१ का वडाध्यक्ष खत्रीद्वारा राजीनामा
२१ असोज २०८३, बुधबार रामेछाप— रामेछाप नगरपालिका वडा नं. १ (गोठगाउँ) का वडाध्यक्ष रेखबहादुर खत्रीले आफ्नो पदबाट राजीनामा दिएका छन् । नगरपालिकाको
कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा रामेछापमा एक जनाको मृत्यु
२० असोज २०८३, मंगलवार रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ सैपुमा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु

प्रतिकृया दिनुहोस